2 शमूएल 8
NCB1 समय बित्दै गएपछि दावीदले पलिश्तीहरूलाई जिते, र तिनीहरूलाई अधीनमा लिए। अनि तिनले मेथेग-आमाहलाई पलिश्तीहरूको अधीनबाट लिए। 2 दावीदले मोआबीहरूलाई पनि जिते। तिनले तिनीहरूलाई भुइँमा सुत्न लगाए, र एउटा डोरीले नापे। प्रत्येक दुई नाप हुनेहरूलाई मारे; अनि तेस्रो नाप हुनेहरूलाई चाहिँ जीवित रहन दिए। यसरी मोआबीहरू दावीदको अधीनमा भए, र उनीहरूले तिनलाई सलामी तिरे। 3 यसबाहेक दावीदले सोबाका राजा, रहोबका छोरा हददेजेरलाई हराए। हददेजर यूफ्रेटिस नदीको इलाकामा आफ्नो अधिकार जमाउनलाई गएका थिए। 4 दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए। 5 जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे। 6 तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर सलामी ल्याए। दावीद जहाँ गए पनि याहवेहले तिनलाई विजय दिनुभयो। 7 दावीदले हददेजेरका अधिकारीहरूका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए। 8 हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दावीदले धेरै मात्रामा काँसा पनि ल्याए। 9 जब हमातका राजा तोऊले हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने, 10 तब तिनले राजा दावीदलाई अभिवादन गर्न र हददेजेरसँगको युद्धमा विजयी भएकोमा बधाई दिन आफ्नो छोरा योरामलाई पठाए। किनकि हददेजर तोऊसँग युद्ध गरिरहेका थिए। योरामले आफूसँग सुन, चाँदी र काँसाका सामानहरू ल्याएका थिए। 11 राजा दावीदले ती सामानहरू याहवेहकहाँ अर्पण गरे, जसरी तिनले अरू देशहरूबाट कब्जा गरेर ल्याएका चाँदी र सुनलाई अर्पण गर्ने गर्दथे। 12 ती देशहरू एदोम, मोआब, अम्मोनी, पलिश्ती, र अमालेकी थिए। तिनले सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका मालसामानहरू पनि अर्पण गरे। 13 नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारेर फर्केपछि दावीद प्रख्यात भए। 14 तिनले एदोमभरि सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो। 15 दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे। 16 सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए। 17 अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए; सरायाहचाहिँ सचिव थिए। 18 बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए। दावीदका छोराहरू राजकीय सल्लाहकार थिए।
