Menu

2 कोरिन्थी 10

NCB

1 म पावल, ख्रीष्‍टको नम्रता र भद्रताद्वारा तिमीहरूलाई यो बिन्ती गर्दछु; म तिमीहरूका सामु हुँदा “नम्र” हुन्छु, तर टाढा हुँदाचाहिँ तिमीहरूप्रति “कडा” हुन्छु। 2 म तिमीहरूलाई बिन्ती गर्छु, कि म त्यहाँ आउँदा हामी यस संसारको नापले जिउँछौँ भन्‍ने कति मानिसहरूप्रति म जति कडा छु, त्यस्तै हुन नपरोस्। 3 किनकि हामी यस शरीरमा रहे तापनि हामी सांसारिक मानिसले गरेजस्तो युद्ध गर्दैनौँ। 4 हामीले चलाउने हतियार यस संसारका हतियार होइनन्। तर गढहरू भत्काउनका लागि हाम्रा हतियारहरू चाहिँ ईश्‍वरीय शक्ति हुन्छ। 5 हामी परमेश्‍वरको ज्ञानको विरुद्धमा उठ्ने तर्कहरू र प्रत्येक आडम्बरहरू नाश गर्छौँ, र ख्रीष्‍टप्रति आज्ञाकारी बनाउन प्रत्येक विचारलाई कैदी बनाउँछौँ। 6 जब तिमीहरूको आज्ञाकारिता पूर्ण हुन्छ, तब हामी अनाज्ञाकारिताको प्रत्येक कामलाई दण्ड दिनेछौँ। 7 तिमीहरूले बाहिरी कुराहरूलाई मात्र हेरिरहेका छौ। यदि कसैलाई “म ख्रीष्‍टको हुँ” भन्‍ने विश्‍वास छ भने त्यसले यो पनि ठानोस् कि हामी पनि त्यसरी नै ख्रीष्‍टका हौँ। 8 प्रभुले हामीलाई दिनुभएको अधिकारबारे मैले धेरै नै घमण्ड गरे तापनि म यसको लागि शर्म मान्‍नेछैनँ; किनकि यो तिमीहरूलाई नाश गर्न होइन, तर आत्मिक उन्‍नतिका निम्ति दिनुभएको हो। 9 तिमीहरूलाई मेरा पत्रहरूद्वारा डर देखाउनेजस्तो देखिन म चाहन्‍नँ। 10 किनकि कतिले भन्छन्, “उसका पत्रहरू गहकिला र प्रभावशाली हुन्छन्, तर व्यक्तिगत रूपमा त्यो प्रभावहीन र उसको बोली पनि व्यर्थको छ।" 11 यस्ता मानिसहरूले यो थाहा गरून्, कि हामी अनुपस्थित हुँदा हाम्रा पत्रहरूमा जस्ता छौँ, उपस्थित हुँदा पनि हाम्रा कामहरूमा त्यस्तै हुनेछौँ। 12 आफ्नै प्रशंसा गर्ने कति जनासित हामी आफूलाई एकै दर्जामा राखेर तुलना गर्ने आँट गर्दैनौँ। यदि तिनीहरूले आफैँले आफूसित नाप्छन् र आफ्नो तुलना आफैँसित गर्छन् भने तिनीहरू बुद्धिमान् होइनन्। 13 हामी सीमा नाघेर घमण्ड गर्दैनौँ, तर परमेश्‍वरले तोकिदिनुभएको क्षेत्रभित्र आफ्नो घमण्डलाई सीमित राख्दछौँ, अर्थात् त्यो क्षेत्र, जहाँ तिमीहरू पनि समावेश छौ। 14 यदि हामी तिमीहरूका बीचमा नआएको भए हाम्रो घमण्ड ज्यादा हुनेथियो, तर हामी तिमीहरूको बीचमा ख्रीष्‍टको सुसमाचार लिएर आयौँ। 15 हामी अरूले गरेका कामहरूको लागि घमण्ड गरेर सीमा नाघ्न चाहँदैनौँ। हाम्रो आशाचाहिँ यही हो, जब तिमीहरूको विश्‍वास बढ्दैजान्छ, त्यसरी नै तिमीहरूका बीचमा हाम्रो कर्मक्षेत्र पनि प्रशस्त बढ्नेछ। 16 ताकि यसरी हामी तिमीहरूभन्दा टाढासम्म सुसमाचार प्रचार गर्न सकौँ। किनकि अरू मानिसको क्षेत्रमा भइसकेको कामको लागि हामी घमण्ड गर्न चाहँदैनौँ। 17 तर “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।" 18 किनकि आफूलाई प्रशंसा गर्ने मानिस स्वीकार गरिँदैन, तर जसको प्रशंसा प्रभुले गर्नुहुन्छ, त्यही मात्र ग्रहणयोग्य ठहरिन्छ।

Everything we make is available for free because of a generous community of supporters.

Donate