Menu

1राजाहरू 18

NCB

1 धेरै समयपछि तेस्रो वर्षमा याहवेहको यो वचन एलियाकहाँ आयो: “जा, र राजा आहाबको सामु आफूलाई उपस्थित गरा; अनि म देशमा पानी बर्साइदिनेछु।" 2 यसकारण एलिया आफूलाई आहाबकहाँ उपस्थित गराउन गए। सामरियामा घोर अनिकाल परेको थियो। 3 आहाबले राजमहलका प्रशासक ओबदियालाई बोलाउन पठाए। (ओबदिया याहवेहका एक भक्त विश्‍वासी थिए। 4 ईजेबेलले याहवेहका अगमवक्ताहरूलाई मारिरहेकी थिइन्, तब ओबदियाले एक सय जना अगमवक्ताहरूलाई लिएर तिनीहरूलाई पचास-पचास गरी दुई वटा गुफाहरूमा लुकाए र तिनीहरूलाई भोजन र पानी जुटाइदिएका थिए।) 5 आहाबले ओबदियालाई भने, “देशमा भएका सबै पानीका मुहानहरू र खोल्साहरूमा जाऊ। सायद घोडाहरू र खच्‍चरहरूलाई जीवित राख्न हामीले केही घाँस पाउन सकौँला; ताकि हामीले आफ्नो कुनै पनि पशुहरूलाई गुमाउन नपरोस्।" 6 यसकारण तिनीहरूले आ-आफू जानुपर्ने ठाउँलाई अलग गरे। तब आहाब एकातिर र ओबदिया अर्कोतिर लागे। 7 ओबदिया बाटोमा जाँदै गर्दा एलियाले तिनलाई भेटे। ओबदियाले तिनलाई चिने। तिनले भुइँसम्म शिर निहुराएर उनलाई भने, “के तपाईं मेरा मालिक एलिया नै हुनुहुन्छ?" 8 उनले जवाफ दिए, “हो म नै हुँ। जाऊ, गएर आफ्नो मालिकलाई एलिया यहाँ छन् भनिदेऊ।" 9 तब ओबदियाले सोधे, “मैले के भूल गरेको छु र तपाईंले आफ्नो सेवकलाई मारिनको लागि आहाबकहाँ सुम्पँदै हुनुहुन्छ? 10 याहवेह तपाईंका परमेश्‍वरलाई साक्षी राखेर भन्दछु, मेरा मालिकले तपाईंलाई खोज्न भनी नपठाएको कुनै राज्य छैन। अनि जब ती राष्ट्र वा जातिले तपाईं त्यहाँ हुनुहुन्‍न भनी दाबी गरे, तब तिनले तिनीहरूलाई ‘हामीले त्यसलाई पाउन सकेनौँ’ भन भनेर शपथ खान लगाए। 11 तर अब तपाईंले मलाई मेरा मालिककहाँ गएर ‘एलिया यहाँ छन्’ भनी भन्‍न लगाउनुहुन्छ। 12 म तपाईंबाट गएपछि याहवेहको आत्माले तपाईंलाई कहाँ लानुहुन्छ, म जान्दिनँ। यदि मैले गएर आहाबलाई भनेँ, र तिनले तपाईंलाई भेट्टाउन सकेनन् भने तिनले मलाई मार्नेछन्। तर म तपाईंको सेवक आफ्नो बालककालदेखि नै याहवेहको आराधना गर्दैआएको छु। 13 मेरा मालिक, जब ईजेबेलले याहवेहका अगमवक्ताहरूलाई मारिरहेको बेला मैले के गरेँ, त्यो तपाईंलाई थाहा छैन? मैले याहवेहका एक सय जना अगमवक्ताहरूलाई पचास-पचास गरी दुई वटा गुफाहरूमा लुकाएँ, र तिनीहरूका निम्ति भोजन र पानी जुटाएँ। 14 अनि अब तपाईं मलाई मेरा मालिककहाँ गएर ‘एलिया यहाँ छन्’ भनी भन भन्‍नुहुन्छ। तिनले त मलाई मार्नेछन्!" 15 एलियाले भने, “जीवित सेनाहरूका याहवेह जसको सेवा म गर्दछु, उहाँलाई साक्षी राखेर भन्दछु, म आज निश्‍चय नै आहाबकहाँ देखा पर्नेछु।" 16 यसकारण एलिया आएका छन् भनेर भन्‍नका लागि ओबदिया आहाबलाई भेट्न गए; र आहाब एलियालाई भेट्न गए। 17 एलियालाई देखेर तिनले उनलाई भने, “के इस्राएललाई कष्‍ट दिने तिमी नै हौ?" 18 एलियाले जवाफ दिए, “इस्राएललाई मैले कष्‍ट दिएको होइन। तर तपाईं र तपाईंका पिताका परिवारले चाहिँ कष्‍ट दिनुभएको छ। तपाईंहरू परमेश्‍वरका आज्ञाहरू त्यागेर बाल-देवताहरूका पछि लाग्नुभएको छ। 19 अब तपाईंले मलाई कर्मेल पर्वतमा भेट गर्न इस्राएलबाट सारा मानिसहरूलाई बोलाउनुहोस्। बालका ती चार सय अगमवक्ता, जसले ईजेबेलको टेबुलमा बसेर खाने गर्दछन्, तिनीहरूलाई पनि लिएर आउनुहोस्।" 20 यसकारण आहाबले सारा इस्राएलभरि खबर पठाए। अनि ती अगमवक्ताहरूलाई कर्मेल पर्वतमा भेला गराए। 21 एलिया मानिसहरूका सामु गएर भने, “तिमीहरू कहिलेसम्म दोधारमा रहन्छौ? यदि याहवेह नै परमेश्‍वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्‍वर हो भने त्यसैलाई पछ्याओ।” तर मानिसहरूले तिनलाई केही पनि जवाफ दिएनन्। 22 तब एलियाले तिनीहरूलाई भने, “याहवेहका अगमवक्ताहरूमध्ये बाँकी रहेको म मात्र हुँ, तर बालका त चार सय पचास जना अगमवक्ताहरू छन्। 23 हाम्रा निम्ति दुई वटा साँढेहरू ल्याओ। तिनीहरूले एउटा आफ्नो लागि चुनून्, र त्यसलाई टुक्रा-टुक्रा गरी काटेर दाउरामाथि राखून्; तर आगोचाहिँ नलगाऊन्। म अर्को साँढेलाई तयार पार्छु, र त्यसलाई दाउरामाथि राख्नेछु; तर म पनि त्यसमा आगो लगाउँदिनँ। 24 तिमीहरूले आफ्ना देवताहरूका नाम लिएर पुकार गर, र मचाहिँ मेरा याहवेहको नाम लिएर पुकार गर्नेछु। जुन देवताले आगोद्वारा जवाफ दिनुहुनेछ, उहाँ नै परमेश्‍वर हुनुहुनेछ।” तब सबै मानिसहरूले भने, “तपाईंले भनेको कुरा ठिक हो।" 25 एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू यति धेरै भएकाले पहिले तिमीहरूले नै एउटा साँढे चुनेर त्यसलाई तयार गर; तर आगोचाहिँ नलगाओ।" 26 यसकारण तिनीहरूलाई दिइएको साँढे तिनीहरूले लगे, र त्यसलाई तयार पारे। तब तिनीहरूले बालको नाम लिएर बिहानदेखि मध्यदिनसम्म पुकार गरे। तिनीहरू यसो भन्दै चिच्याए, “हे बाल, हामीलाई जवाफ दिनुहोस्।” तर केही जवाफ आएन, न त कसैले जवाफ नै दियो। तिनीहरू आफूले बनाएका वेदीका वरिपरि उफ्रँदै नाचिरहे। 27 मध्यदिनमा एलियाले तिनीहरूलाई यसो भनेर खिसी गर्न थाले, “ठूलो सोरले चिच्याओ! त्यो त देवता नै हो! सायद ऊ गहिरो चिन्तनमा बसेका होला, वा कतै व्यस्त होला, अथवा कतै भ्रमण गर्न पो गएको होला कि? सायद, ऊ सुतिरहेको होला, र उसलाई बिउँझाउनैपर्छ।" 28 यसकारण तिनीहरू ठूलो सोरले चिच्याउन थाले; अनि तिनीहरूका रीतिअनुसार रगत नबगुन्जेल आफूलाई तरवार र भालाले चोट पारे। 29 मध्यदिन बितिगयो। बेलुकाको बलिदानको समयसम्म नै तिनीहरू बौलाहझैँ अगमवाणी गरिरहे। तर त्यहाँ न त केही जवाफ आयो, न त कसैले जवाफ नै दियो; त्यहाँ कसैले ध्यान दिएनन्। 30 तब एलियाले सबै मानिसहरूलाई भने, “यहाँ मकहाँ आओ।” तिनीहरू सबै तिनको नजिक आए। तब तिनले याहवेहको भत्किएको वेदीलाई मर्मत गरे। 31 “तेरो नाम इस्राएल हुनेछ” भनेर याहवेहको वचन आएअनुसार याकोबका सन्तानबाट प्रत्येक कुलको निम्ति एक-एक गरी एलियाले बाह्र वटा ढुङ्गाहरू लिए। 32 ती ढुङ्गाहरूद्वारा तिनले याहवेहको नाममा एउटा वेदी बनाए; र तिनले त्यसको वरिपरि दुई सिहा बिउ अटाउने खाडल खने। 33 तिनले दाउरा मिलाए, र त्यस साँढेलाई टुक्रा-टुक्रा पारे, र दाउरामाथि राखे। तब तिनले तिनीहरूलाई भने, “चार वटा ठूला गाग्राहरूमा पानी भरेर त्यस बलिदान र दाउरामाथि खन्याइदेओ!" 34 तिनले भने, “फेरि त्यस्तै गर!” तिनीहरूले फेरि त्यसै गरे। तिनले “तेस्रोपल्ट पनि त्यस्तै गर!” भनेर आज्ञा दिए। तिनीहरूले तेस्रोपल्ट पनि त्यसै गरे। 35 पानी वेदीको चारैतिर बग्यो, र त्यस खाडललाई समेत भरिदियो। 36 बलिदानको समयमा एलिया अगमवक्ता वेदीको अगि बढे, र यसरी प्रार्थना गरे: “हे याहवेह, अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, तपाईं नै इस्राएलमा परमेश्‍वर हुनुहुन्छ। म तपाईंको सेवक हुँ, र मैले यी सबै तपाईंकै आदेशमा गरेको हुँ भनेर आज थाहा होस्। 37 हे याहवेह, मलाई जवाफ दिनुहोस्, ताकि यी मानिसहरूले तपाईं नै याहवेह परमेश्‍वर हुनुहुन्छ र तपाईंले तिनीहरूका हृदय फेरि फर्काइदिनुहुनेछ भनी जान्‍नेछन्।" 38 तब याहवेहको आगो झर्‍यो, र त्यो बलिदान, दाउरा, ढुङ्गाहरू र माटोलाई डढायो; अनि खाडलमा भएको पानीलाई पनि सुकाइदियो। 39 जब सबै मानिसहरूले यो देखे, तब तिनीहरू लम्पसार परे; अनि “याहवेह नै परमेश्‍वर हुनुहुन्छ! याहवेह नै परमेश्‍वर हुनुहुन्छ!” भनी कराए। 40 तब एलियाले तिनीहरूलाई आज्ञा दिए, “बालका अगमवक्ताहरूलाई समात। एक जना पनि भाग्न नपाओस्!” तिनीहरूले उनीहरूलाई पक्रे; अनि एलियाले तिनीहरूलाई कीशोनको बेँसीमा ल्याउन लगाए, र तिनीहरूलाई त्यहाँ मारे। 41 अनि एलियाले आहाबलाई भने, “गएर खानपिन गर्नुहोस्; किनकि मुसलधारे वर्षाको आवाज सुनिँदैछ।" 42 यसकारण आहाब खानपिन गर्न गए। तर एलियाचाहिँ कर्मेलको टाकुरामा चढे; अनि भुइँसम्मै निहुरेर आफ्नो मुख आफ्ना घुँडाहरूको बीचमा राखे। 43 तिनले आफ्नो सेवकलाई भने, “गएर समुद्रतिर हेर्।” अनि त्यो माथि गयो, र हेरेर भन्यो, “त्यहाँ केही पनि छैन।” एलियाले त्यसलाई सातपल्ट “फेरि फर्केर जा” भने। 44 सातौँ पटकमा त्यस सेवकले “कुनै मानिसको हात जत्रो सानो एउटा बादल समुद्रबाट उठिरहेको छ” भन्‍ने खबर दियो। यसकारण एलियाले त्यसलाई भने, “गएर आहाबलाई भनिदे, ‘वर्षाले तपाईंलाई रोक्नुभन्दा पहिले आफ्नो रथ तयार गरेर तल गइहाल्नुहोस्।’ “ 45 त्यसै बेला आकाश बादलले कालो भयो; बतास चल्न थाल्यो, र मुसलधारे वर्षा हुन थाल्यो। अनि आहाब यिजरेलतर्फ सवार भए। 46 याहवेहको शक्ति एलियामाथि आयो, अनि आफ्नो पेटीमा आफ्नो खास्टो कसेर तिनी आहाबको अगि-अगि यिजरेलसम्मै दगुरे।

Everything we make is available for free because of a generous community of supporters.

Donate