Menu

1 कोरिन्थी 4

NCB

1 यसरी तिमीहरूले हामीलाई ख्रीष्‍टका सेवकहरू र परमेश्‍वरका रहस्यका भण्डारे ठान्‍नुपर्छ। 2 भण्डारेहरू विश्‍वासयोग्य हुन आवश्यक छ। 3 यदि तिमीहरूद्वारा अथवा अरू मानवीय अदालतद्वारा मेरो न्याय हुन्छ भने यो मेरो लागि सानो कुरा हो। वास्तवमा म स्वयम् आफ्नो न्याय गर्दिनँ। 4 मेरो विवेक शुद्ध छ, तर पनि यसले मलाई निर्दोष ठहराउँदैन। मलाई न्याय गर्ने प्रभु हुनुहुन्छ। 5 यसकारण तोकिएको समयभन्दा पहिले न्याय नगर, प्रभु नआउन्जेल पर्ख। उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसका हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ। त्यस समय हरेकले प्रभुबाट प्रशंसा पाउनेछन्। 6 दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूका भलाइको लागि यी कुराहरू आफू र अपोल्‍लोसलाई उदाहरणको रूपमा प्रयोग गरेको छु, ताकि हामीबाट तिमीहरूले भनाइको अर्थ सिक्न सक, “लेखिएको कुराभन्दा टाढा नजाओ।” तब तिमीहरू एउटाको विरुद्धमा अर्कोको अनुयायी भनी घमण्डले फुल्ने छैनौ। 7 कसले तिमीलाई अरूभन्दा श्रेष्‍ठ तुल्यायो? तिमीसँग परमेश्‍वरले नदिनुभएको के छ र? र यदि तिमीलाई सबै थोक परमेश्‍वरले दिनुभएको हो भने केही पनि नपाएको जस्तो गरी किन घमण्ड गर्दछौ? 8 तिमीहरूले चाहेका कुराहरू अगि नै पाइसकेका छौ! तिमीहरू धनी भइसकेका छौ! हामीविना नै तिमीहरू राजा भएका छौ। म तिमीहरू साँच्‍चै राजा भएर काम गरेको चाहन्छु, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौँ! 9 किनकि मलाई यस्तो लाग्छ, परमेश्‍वरले हामी प्रेरितहरूलाई मैदानमा दोष लगाएर मारिनलाई लगिएका मानिसहरूका ताँतीमा जस्तै पछिल्तिर प्रदर्शनको लागि राख्नुभएको छ। हामी सारा संसारका, स्वर्गदूतहरूका र मानव जातिहरूका अगाडि तमाशा बनाइएका छौँ। 10 हामी ख्रीष्‍टका निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमान् छौ। हामी दुर्बल छौँ, तर तिमीहरू बलवान् छौ! तिमीहरूले सम्मान पाएका छौ, तर हामीले अपमान। 11 अहिले पनि हामी भोकाएका र तिर्खाएका छौँ, हामी झुत्रे-झाम्रे छौँ, हामीलाई क्रूरतासाथ व्यवहार गरिन्छ र हामी घरविहीन छौ। 12 हामी आफ्नै हातले कठोर परिश्रम गर्छौँ। जब हामीलाई गिल्‍ला गरिन्छ, हामी आशिष् दिन्छौँ; जब हामीलाई सताइन्छ, हामी सहन्छौँ। 13 जब हामी निन्दित हुन्छौँ, नम्रतापूर्वक जवाफ दिन्छौँ। अहिले पनि हामी संसारका कसिङ्गर र फोहोर भएका छौँ। 14 मैले यी कुराहरू तिमीहरूलाई शर्ममा पार्नलाई होइनँ, तर मेरा प्यारा सन्तानलाईझैँ चेतावनी दिनलाई लेख्दैछु। 15 ख्रीष्‍टमा तिमीहरूका दश हजार अभिभावकहरू हुन सक्लान्, तिमीहरूका धेरै पिताहरू हुँदैनन्; किनकि ख्रीष्‍ट येशूमा सुसमाचारद्वारा म तिमीहरूका पिता भएको छु। 16 यसकारण म तिमीहरूलाई मेरो अनुकरण गर भनी बिन्ती गर्दछु। 17 यसैकारण मैले मेरो छोरा तिमोथी, जसलाई म प्रेम गर्छु, जो प्रभुमा विश्‍वासयोग्य छन्, तिनलाई तिमीहरूकहाँ पठाएको छु। तिनैले तिमीहरूलाई ख्रीष्‍ट येशूमा मेरो जीवन जिउने तरिका सम्झना गराउनेछन्, जुनचाहिँ सबै ठाउँहरूका सबै मण्डलीहरूमा मैले सिकाएबमोजिम छ। 18 म तिमीहरूकहाँ आउँदिनँ जस्तो ठानेर तिमीहरूमध्ये कति जना घमण्डी भएका छौ। 19 तर यदि प्रभुको इच्छा भयो भने म चाँडै आउनेछु र यी घमण्डी मानिसहरूले के भनिरहेका छन् भन्‍ने मात्र होइन, तर तिनीहरूसँग कस्तो शक्ति छ, त्यो पनि म पत्तो लगाउनेछु। 20 किनकि परमेश्‍वरको राज्य कुरा गराइमा होइन, तर शक्तिमा हुन्छ। 21 तिमीहरू के चाहन्छौ? के म तिमीहरूकहाँ अनुशासनको छडी लिएर आऊँ, वा प्रेममा र नम्रताको आत्मासाथ आऊँ?

Everything we make is available for free because of a generous community of supporters.

Donate